मानब तस्करको नयाँ रुट,लाखौंको मोलमोलाही गर्दै नेपाली युवती लाई भारत हुदै इराक पुर्याइन्छ।

Sharing is caring!

फागुन ६

काठमाडौँ ,नेपालमा कयौ परिवारको आर्थिक स्थिति अझै पनि कमजोर छ । यस्तै आर्थिक स्थिति कमजो भएका परिवारको केहि सदश्य सहरी छेत्रमा आउने गर्छन त्यस्तैगरि अर्काको घरमा घरेलु श्रमिक हुदै काम गर्दै एसएलसी सम्मको अध्ययन गरिसकेपछि आफ्नै गाउँ फर्किएकी सिन्धुपाल्चोककी इश्वरी अधिकारी (नाम परिवर्तन) फेरि गाउँमा पनि नबस्ने सोच बनाइन्। 

उनले विदेश गएर धेरै पैसा कमाउने र विदेशबाट खुसी ल्याएर परिवारसँगै बस्ने सपना बुनिन्। घरमा आमा बुबासँग विदेश जाने सल्लाह गरिन्। घरको आर्थिक अवस्था कमजोर भएका आमा बुबाले पनि ईश्वरीलाई विदेशमा ‘राम्रो कमाई हुन्छ भने भने जा’ भनेर पठाउन तयार भए। मनभरी रहरै रहर र बाध्यताको भुमरी चलेपछि ईश्वरीले परदेश जाने सुरसार गरिन्। वरपरका साथीभाइसँग पनि सल्लाह गरिन्।

उनीसँगै उनकै घर नजिकैकी साथी मैया तामाङ (नाम परिवर्तन) पनि जान तयार भइन्। दुवैजना वैदेशिक रोजगारीमा जाने भए। विदेश जान काठमाडौं आएका उनीहरुलाई दलालीले वैदेशिक रोजगारीमा युएई जाँदा निकै राम्रो कमाइ हुने सुनाए। केयर गिभर काम भएपनि काम सजिलो हुने र कमाई पनि राम्रो हुने सुनेपछि ईश्वरी र मैया विदेश जान तयार भए।

परिवारको आर्थिक अवस्था पनि राम्रो नभएकाले छोरीले विदेश गएर राम्रो पैसा कमाएर आउँछन् भन्ने विश्वासले बुबा आमाले ऋण खोजेरै विदेश पठाए। युएई जान राम्रो काम भएकाले ४ लाख लाग्ने भनेर दुवै जनासँग ४÷४ लाख रकम बुझाएका थिए। साथीको कुरा सुनेर मैया र ईश्वरीले धिरज खरेल नाम बताउने व्यक्तिलाई रकम बुझाए। त्यसपछि भिसा आउँछ भन्दै उनीहरुलाई ३ महिना कुर्न लगाइयो।

पैसा बुझाएको १ महिनापछि युएई भारतको बाटो हुँदै जानुपर्ने सुनाइयो। सोझा युवतीले दलालको विश्वास गरेर भारतकोबाटो हुँदै दुवई जान तयार भए।  २०७३ असोज ५ गते उनीहरु भारतका लागि उडे। भारतको नयाँ दिल्लीमा मैया र ईश्वरीका १५ दिन बिते। १५ दिनपछि उनीहरुलाई किर्गिस्तान रोजगारीका लागि जानुपर्ने दलालीको समूहले सुनाए।

मैया र ईश्वरीलाई किर्गिस्तानमा युएईको भन्दा राम्रो काम र कमाई पनि झण्डै दोब्बर हुने मासिक २ लाख जति कमाइ हुने प्रलोभन देखाएपछि उनीहरु किर्गिस्तान जान तयार भए। आफूले कहिले सुन्दै नसुनेको ठाउँमा रोजगारीमा जाँदा ठगिइन्छ भन्ने नै उनीहरुलाई भएन। 

दलालले बाटोमा नै उनीहरुलाई मोबाइल समेत बोक्न दिएको थिएन। उनीहरु न किर्गिस्तान न त युएई उनीहरुलाई त पो श्रीलंका पुर्याइयो। 
श्रीलंकामा २० दिन बस्न पर्यो। २० दिनको समयमा घरमा फोन गर्नका लागि मोबाइल पनि थिएन। अब कुन ठाउँमा कसरी पुर्याउने हो, के काम गर्नुपर्ने हो? केही अत्तोपत्तो थिएन। उनीहरुसँगै भएका दलालले उनीहरुलाई गाली गर्ने र कुटपीट गर्ने गर्दर्थे। चुपचाप शारीरिक तथा मानसिक यातना समेत भोग्नुपर्ने अवस्था थियो। 

‘गालीमात्रै होइन कुटाइपनि खाइयो, घरबाट कहिल्यै ननिस्केका हामीलाई केही थाहा पनि थिएन,’ ईश्वरी भन्छिन्।’  श्रीलंकामा उनीहरु जस्तै २५ जना युवती रोजगारीका लागि हिँडेका थिए। उनीहरुलाई रोजगारीका लागि इराक पुर्याइयो। ईराकको विमानस्थलमा उनीहरुलाई रिसिभ गर्न नेपाली टोलीहरु नै आएका थिए। त्यसपछि इराकका फरक फरक ठाउँमा सबैलाई पुर्याइयो। मैयाँ र ईश्वरीलाई पनि फरक फरक ठाउँमा पुगे। 
इराकमा पुगेपछि उनलाई एउटा घरमा अफिसमा पुर्याइयाे। 

‘त्यो अफिसमा मानिसको मोलमोलाई सुरु हुँदोरहेछ,’ ईश्वरीले भनिन्, ‘कुनै कार्यालय जस्तो खोलेर त्यहाँ ल्याइएका नेपाली युवतीलाई इराकका स्थानीयले लाखौँ रकममा किनेर लैजाने र आफू खुसी काममा लाउने गर्दा रहेछन्।’।  ईश्वरलाई पनि एउटा घरमा पुर्याइयो। घरेलु काम गर्नुपर्ने थियो, भाषा नबुझ्ने समस्या त्यस्तै। अरु साथीहरु कहाँ पुगे। आफ्नै गाउँकीसँगै विदेश हिडेकी मैया पनि कहाँ पुगिन् कहाँ। 

ईश्वरीले काम गर्ने घरमा ४ जनाको परिवार थियो। ‘बाबुआमा र छोराछोरी त होलान्,’ उनले भनिन्। उनले दैनिक १४ घण्टासम्म काममा खटिनुपर्ने भयो। घरका मान्छेले पनि पशुलाई जस्तै व्यबहार गर्थे। ‘जे भने पनि गाली नै गरेको हो कि जस्तो लाग्थ्यो। मार्ने हुनकी भनेर निकै डर लाग्थ्यो, परदेशको ठाउँ जे गरेपनि सहनुको विकल्प थिएन,’ उनले भनिन्। इराकमा घरेलु कामदारका रुपमा काम गर्न थालेको केही समय पछि उनले मोबाइल चलाउन पाइन्। त्यसपछि ईश्वरीले इराकमा नेपाली कामदार बैधानिक रुपमा जान नपाउने हुँदा अवैधानिक रुपमा दलालहरुले जाल थापेर पठाउने गरेको जानकारी पाइन्। 

आफू अवैधानिक भएपछि डरको सीमा रहेन। नेपाल फर्कन पाए स्वर्ग पुगेजस्तै हुने उनले सोचेकी थिइन्। सँगै गएकी साथी मैयासँग अझै सम्पर्क हुन सकेको थिएन। केही समय पछि मोबाइलमार्फत आफन्तसँग कुरा गर्दै जाँदा ईश्वरीको मैयासँग फोनमा सम्पर्क भयो। मैयाले पनि त्यस्तै दुख पाएको कुरा सुनाएपछि ईश्वरी र मैयाले जसरी भएपनि नेपाल जान पाउनु पर्ने भन्दै त्यही आफूलाई पैसामा बेच्ने नेपाली दलाललाई सम्पर्क गरे।

उनीहरुले आफूहरुलाई जसरीपनि नेपाल पठाउनुपर्यो बरु एक रुपैयाँ पैसा चाइन्न भनेर ढिपी गरे। दलालीले तोकेको समयसम्म काम गरेपछि मात्रै नेपाल फर्कन पाइने बताए। अझै अर्को ठाउँमा ३÷४ महिना काम गरेपछि बल्ल नेपाल फर्कन पाइने बताए। तर बरु मर्न तयार हुने तर अब कतैपनि काम नगर्ने अडान राखेपछि ईश्वरी र मैयालाई दलाल नेपाल पठाउने भयो। 

झण्डै डेढ वर्ष कष्टकर जीवन झेलेर ईश्वरी र मैयालाई नेपाल आउन टिकटका लागि दलालीले साहुसगँ ४ लाख रुपैयाँ लियो।  पैसा लिएर पनि २ वर्ष जसरी पनि काम गर्नै पर्ने भनेर दलालीले उनीहरुलाई थप ६ महिना काम गर्नुपर्ने सुनाए। नेपाल नै जाने भए थप पैसा लाग्ने भयो। 
दलालीले उनीहरुलाई आफ्नो नाम भने बताउँदैन थिए। नाम सोध्दा ‘आफ्नो काम गर न खुरुखुरु तिमीहरुलाई काम लगाइदिए भएन?’ भन्दै थर्काउँथे। 

ईश्वरी र मैयासँग पैसा नभएकाले त्यति पैसामा नै नेपाल जसरीपनि पठाउन हारगुहार गरे। खाना न पानी २ दिन बित्यो। त्यसपछि बल्ल ईश्वरी र मैया नेपाल आउन पाए। उनीहरु २०७५ वैशाख १० गते नेपाल आइपुगे।  ईश्वरीले भनिन्, ‘सानै देखि दुख गर्न जुरेको रैछ, अरुको घरमा बसेर घरको काम गरेर पढेको अर्काको देशमा गएर पनि उस्तै भयो। हामी सोझालाई दलालीले ठगे।’

उनीहरुलाई यसरी वेचविखनमा संलग्न धिरज खरेल अहिले सम्पर्कविहीन छन्। ईश्वरी र मैयाले खरेललाई  मानव बेचविखन, ओसारपसार तथा ठगी कसुर सम्बन्धी उजुरी दिने बताएका छन्। यस्ता अपराधिक क्रियाकलापमा निकै ठूलो जालो रहेको भन्दै अपराधीलाई खोजी गरी पत्ता लगाइ सरकारले कानुनी कारबाही हुनुपर्ने उनीहरुको माग छ। 

मानव वेचविखन तथा ओसार पसारका विरुद्धमा कदम चलाउँदै आएको एटविनले गरेको अध्ययन अनुसार काठमाडौं जिल्लासँग सिमाना जोडिएका केही जिल्लाहरुका युवतीहरु यसरी दलालीको जालमा पर्ने गरेको उल्लेख गरेको छ।  काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट थुप्रै युवतीहरु तस्करीमा पर्ने गरेको एटविनले जनाएको छ। 

अपराध अनुसन्धान महाशाखामा पनि मावन तस्करीका उजुरीहरु बढ्दै गइरहेको महाशाखाले जनाएको छ।  महाशाखाका डिएसपी मनोहरप्रसाद भट्टले भने, ‘रोजगारीका नाममा मानव तस्करीमा संलग्न गिरोहको ठूलै समूह हुनसक्ने आशंका रहेकाले हामी छानवीन गरिरहेका छौं।’डिएसपी भट्टले वैदेशिक रोजगारीका लागि कसैको प्रलोभनमा परेर अवैधानिक बाटो नअपनाउन सबै युवावर्गलाई अनुरोध गरेका छन्। श्रोत :डिसी नेपाल
 


Leave a Reply

shares