नेपालले आयोजनाको जिम्मेवारी लिएको तेह्रौँ सागको मिति सरेको सरै।

Sharing is caring!

फागुन २४

काठमाडौँ ,सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा सम्पन्न बाह्रौँ सागको समापन समारोहमा नेपालले तेह्रौँ साग आयोजनाको जिम्मेवारी लिएको थियो। त्यो तेह्रौँ सागको मिति नेपाल सरकारले अहिले सम्म तीन पटक सारिसकेको छ।

अन्तर्राष्ट्रिय खेलवृत्तमा भर्खरै बामे सर्दै गरेको नेपालजस्तो राष्ट्रका लागि एसियाली खेलकुद र ओलम्पिकजस्ता प्रतियोगिता उपलब्धिका हिसाबले शून्य बराबर थिए। यस्ता ठूला प्रतियोगितामा नेपालको सहभागिता पदक जित्नेभन्दा पनि अनुभव आर्जन गर्नमै सीमित रहने अवस्था देखेपछि सागको अवधारणा अगाडि आएको हो।

विश्व खेलमञ्चमा यस्ता निकै कम उपलब्धि छन्, जसमा नेपालले गर्व गर्न सकोस्। ती उपलब्धिमध्ये सबैभन्दा ठूलो हो, दक्षिण एसियाली खेलकुद (साग)। साग यस्तो प्रतियोगिता हो, जसको बीउ नेपाल आफैँले रोपेको थियो। यो प्रतियोगिताको परिकल्पनाकार नेपाल नै हो भने पहिलो संस्करणको आयोजना पनि नेपालमै भएको थियो।

नेपाल मात्र होइन, ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका अधिकांश राष्ट्रको अवस्था उस्तै थियो। त्यसैले एकै पटक ठूला प्रतियोगितामा पदकको सपना देख्नुभन्दा क्षेत्रीयस्तरको प्रतियोगिता आयोजना गरेर क्रमशः आफ्नो प्रदर्शनमा निखार ल्याउँदै अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा सागको परिकल्पना गरिएको थियो।

शरदचन्द्र शाह २०३४ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव नियुक्त भए। त्यसको केही समयपछि नै उनले दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीयस्तरको प्रतियोगिता आयोजनाको परिकल्पना गरे। यसमा दक्षिण एसियाका अन्य राष्ट्र पनि सहमत भए। लामो समयको छलफलपछि सन् १९७८ सा साफ खेलकुद (पछि मात्र नाम परिवर्तन गरेर साग बनाइएको) आयोजनाका लागि विधान तयार पारिएको थियो। 

विधान तयार भएपछि पनि लामो समयसम्म यो प्रतियोगिता सुरु हुन सकेन। सन् १९८३ मा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको स्थापनापछि मात्र यसले निरन्तरता पायो। अल्फाबेटिकल आधारमा साफको पहिलो संस्करण बंगलादेशले आयोजना गर्ने निर्णय भयो। तर, विभिन्न कारणले दुई पटक मिति सार्दा पनि बंगलादेशले प्रतियोगिता आयोजना गर्न सकेन। 

नेपालले आयोजनाको जिम्मेवारी लिएको तेह्रौँ सागको मिति तीन पटक सरिसकेको छ। सन् २०१६ को फेब्रुअरी ५ देखि १६ सम्म भारतको गुवाहाटी र सिलोङमा सम्पन्न बाह्रौँ सागको समापन समारोहमा नेपालले तेह्रौँ साग आयोजनाको जिम्मेवारी लिएको थियो। तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले तेह्रौँ साग निर्धारित समयमै आयोजना गर्ने प्रतिबद्धतासहित नेपाल सरकारको तर्फबाट झण्डा ग्रहण गरेका थिए। 

तर, साग न खेल अधिकारीहरूको चासोको विषय बन्यो, न त सरकारकै प्राथमिकतामा पर्न सक्यो। तेह्रौँ साग आयोजनाको जिम्मेवारी लिएयता चार जना खेलकुदमन्त्री परिवर्तन भइसकेका छन्। मण्डलपछि दलजीत श्रीपाली खेलकुदमन्त्री बने। त्यसपछि राजेन्द्रकुमार केसीले त्यो जिम्मेवारी पाए। अहिले जगतबहादुर विश्वकर्मा सो जिम्मेवारीमा छन्।

चार जना मन्त्री परिवर्तन भइसक्दा पनि साग आयोजनाको विषय भने सामान्य समिति र उपसमिति गठनमै अल्झिएर बसेको छ। गत शनिबार थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले तेस्रो पटक तेह्रौँ सागको नयाँ मिति घोषणा गरेको छ। नयाँ मितिअनुसार सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म तेह्रौँ साग आयोजना हुनेछ।

सरकारकै प्रस्तावमा काउन्सिलले सागको नयाँ मिति तोकेको हो। नुवाकोटको ककनीमा सम्पन्न राखेपको बोर्ड बैठकले तेह्रौँ सागको मिति सार्ने निर्णय गरेको थियो। सोहीअनुरूप नेपाल ओलम्पिक कमिटी (एनओसी)मार्फत उक्त प्रस्ताव काउन्सिलमा पठाइएको थियो। 

वास्तवमा, नेपालले सन् २०१८ मा तेह्रौँ साग आयोजना गर्नुपथ्र्यो। तर, खेल अधिकारी र सरकार गम्भीर नबनेपछि साग आयोजनाका लागि समिति नै बन्न सकेनन्। बल्लतल्ल मूल आयोजक समिति र तयारी समिति बन्यो। तर, ती समिति राजनीतिक खिचातानीमै अल्झिए।

समितिमा राजनीतिक आस्थाका आधारमा आफ्ना मान्छे राख्ने विषयमा मन्त्रीहरूबीच होडबाजी चलेपछि लामो समयसम्म समितिको बैठकसम्म बस्न सकेन। बल्लतल्ल बनेका उपसमितिहरूको अवस्था पनि उस्तै छ। २०७२ सालमा गएको विनाशकारी भूकम्पले खेलकुदको भौतिक संरचनामा पु¥याएको क्षति, समिति र उपसमितिमा देखिएको खिचातानी, सरकारले बजेट उपलब्ध गराउन देखाएको उदासीनताजस्ता कारणले सन् २०१८ मा तेह्रौँ साग हुन सकेन।

त्यसपछि काठमाडौँमै बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ सम्म प्रतियोगिता आयोजना गर्ने गरी दोस्रो पटक मिति सार्ने निर्णय लियो। तर, दोस्रो पटक तोकिएको समयमा पनि परिस्थिति उस्तै रह्यो। कुनै ठोस काम नै नभई समयले नेटो काट्ने अवस्था आएपछि तेस्रो पटक मिति सार्ने प्रस्ताव राखियो। सोहीअनुरूप बैंककमा बसेको काउन्सिलको बैठकले डिसेम्बरको नयाँ मिति घोषणा गरेको हो।

Leave a Reply

shares