मलेशियाली कम्पनि भन्छ : नेपाली कामदार लिन आतुर छौँ,हामी सबै खर्च बेहोर्छौँ

Sharing is caring!

चैत १९

दोहा,नेपालबाट मलेसियामा रोजगारीका लागि कामदार जान नपाएको १० महिनाभन्दा बढी भयो । गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्दप्रायः नै छ । मलेसियाको प्रमुख ‘सोर्स कन्ट्री’ रहेको नेपालबाट सरकारले यथाअवस्थामा कामदार लैजान प्रतिबन्ध लगाएपछि मलेसियाको श्रम बजारमा समेत कामदारको अभाव खड्किएको छ ।

नेपाल सरकारले एकतर्फी रूपमा मलेसिया रोजगारीको प्रक्रिया बन्द भएको घोषणा गरेसँगै त्यसको ५ महिनापछि अर्थात् कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच नेपाली कामदारलाई लाग्ने सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीबाट बेहोर्ने तथा मलेसियन नागरिकसरह तलब र अन्य सुविधा उपलब्ध गराउने गरी एमओयु भयो ।यद्यपि त्यो एमओयू अझै कार्यान्वयनमा आइसकेको भने छैन । अन्य कुरा यथावत रहेमा आगामी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट मलेसिया रोजगारी खुल्ने सम्भावना छ ।

नेपाल र मलेसिया सरकारबीच भएको यस सहमतिलाई लिएर मलेसियामा रहेका कम्पनी पनि ज्यादै उत्साहित देखिएका छन् । रातोपाटीको टिम क्वालालुम्पुर पुगेर केही रोजगारदाता कम्पनीको भ्रमणसमेत गरेको थियो । आखिर के भन्छन् त मलेसियाका रोजगारदाताहरु ? के उनीहरु सबै खर्च आफै बेहोरेर नेपाली कामदार लैजान तयार छन् त ? यहाँ रोजगारदाता कम्पनीका केही भनाइलाई प्रस्तुत गरिएको छ ।

हामी नेपाली कामदार लिन आतुर छौँ : मुहम्मद सेक्युरिटी
क्वालालुम्पुरमा सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी छ, महमुद सेक्युरिटी एसडीएन बीएचडी । मलेसियाको ९ वटै प्रान्तमा आफ्नो शाखा रहेको दाबी गर्ने यस सेक्युरिटीमा अहिले पनि करिब २ सय जना नेपाली सेक्युरिटी गार्डको माग रहेको छ । क्वालालुम्पुर, सेलाङ्गोरलगायत स्थानका कम्पनीहरुले यस सेक्युरिटीसँग नेपाली सेक्युरिटी गार्डको माग गरेका छन् ।

तर नेपालबाट सेक्युरिटी गार्ड लिनका लागि नयाँ प्रक्रिया सुरु नभएकाले उनीहरुले कामदारको ‘सप्लाई’ गर्न पाएका छैनन् ।अहिलेसम्म त उनीहरुले बिस्तारै बिस्तारै भन्दै रोकिरहेका छन् । तर अब पनि यो प्रक्रिया सुरु नभएमा भने उनीहरुले बाध्य भएर अर्को विकल्प रोज्नुपर्ने हुन्छ ।उनीहरुसँग रहेको अर्को विकल्प भनेको सारावाङ पुगेर त्यहीँका नागरिकलाई सेक्युरिटी गार्डका रूपमा लिनु नै हो ।

तर मलेसियाकै मान्छेले सेक्युरिटी गार्डको काम गर्न नरुचाउने र इमानदारिताका साथ काम नगर्ने भएको कारणले उनीहरु नेपाली सेक्युरिटी गार्डका लागि कुरिरहेका छन् । महमुद सेक्युरिटीका सीईओ रादिन रोस्लान बिन रादिन साउदी भन्छन्, ‘हामीसँग नेपाली सेक्युरिटी गार्डको विकल्प छैन । कम्पनी आफैले नेपाली सेक्युरिटी गार्ड चाहियो भनेर माग गर्छन् ।

मलेसिया भन्छ हामी सबै प्रक्रिया पूरा गर्न तयार छौँ तर खोलिदिनु पर्यो :
महमुद सेक्युरिटी मात्रै होइन, अनुग्राह सेक्युरिटीका म्यानेजिङ डाइरेक्टरको गुनासो पनि त्यस्तै छ । उनीहरुसँग पनि धेरैभन्दा धेरै नेपाली सेक्युरिटी गार्डको माग छ ।तर नेपालबाट कामदार मलेसिया आउने क्रम रोकिएको हुँदा अहिले कुनै पनि कम्पनीलाई कामदार दिन नपाएको अनुग्राह सेक्युरिटीका प्रबन्ध निर्देशक दातो हाजी अब्दुल अजिज बिन अब्दुल सलाम गुनासो छ ।

प्रबन्ध निर्देशक अजिज बिन अब्दुल सलाम भन्छन्, ‘हामीलाई नेपाल र मलेसिया सरकारले गरेको एमओयूमा कुनै समस्या छैन । हामी यो सहमतिबाट खुशी छौँ र सबै खर्च बेहोर्न हामीलाई कुनै समस्या पनि छैन । यो हाम्रो दायित्व पनि हो । तर अब नेपालबाट कामदार मलेसिया आउने बाटो भने खुल्ला हुनुपर्छ र दुवै देशले यसका लागि पहल गर्नुपर्छ ।

अजिज बिन अब्दुल सलामका अनुसार मलेसियामा रहेका अधिकांश सेक्युरिटीले नेपालबाट सेक्युरिटी गार्ड ल्याउँदा सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरेका छन् । कतिपय सेक्युरिटी कम्पनीहरुले त एकजना कामदार नेपालको गाउँबाट काठमाडौँमा आउँदा लाग्ने गाडी भाडा, काठमाडौँमा बस्न र खान लाग्ने खर्च, मेडिकल लगायतका अन्य सबै खर्च,हवाई टिकट आदि सबै दिने गरेका छन् ।

Leave a Reply

shares