मलेशिया विरुद्धको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेटमा नेपालले मलेशियालाई ६ रनले पराजित गर्यो।

Sharing is caring!

असार ३०

काठमाडौँ ,क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।

यसअघि नेपालले टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्विप’ गरेको थिएन । आइसिसीबाट टी–ट्वान्टी अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलोपटक युइएविरुद्वको शृङ्खला २–१ ले जितेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई १७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रनमा समेटिएको थियो ।

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सिधै सिङ्गापुर प्रस्थान गर्नेछ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एशिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

Leave a Reply

shares