चिनियाँ राष्ट्रपतिको स्वागतमा चिटिक्क राजधानी।

Sharing is caring!

असोज २५

काठमाडौँ,करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाल सरकारले चिनियाँ राष्ट्रपतिको स्वागतमा राजधानी चिटिक्क बनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने विस्वास नेपाली जनताले लिएको छ ।

सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए । उनीहरुले लहरै गमला मिलाएर राखे । पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले ।

सडकका किनारामा लहरै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङको ठूलाठूला फोटो टाँसिएको छ । राजधानीको सडकमा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि फूलहरु राखिएका छन् । दुई दशकपछि चिनियाँ राष्ट्रपति नेपालको दुई दिवसीय राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदै हुनुहुन्छ । 

सरकारले चिनियाँ राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक चिटिक्क पारेको छ । सडक किनारामा बनाइएका स्वागतद्वारमा लेखिएको छ ‘सगरमाथा र गौतमबुद्धको जन्मस्थल नेपालमा स्वागत छ । यस्तै स्वागतका लागि तयार गरिएका फ्लेक्समा शे–फोक्सोन्डो ताल, बिपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थललगायतका तस्वीर राखिएको छ ।

राजधानीको मुटुमा रहेको तीनकुनेलाई रामचन्द्र बस्नेत र उहाँको समूहले कल्की, पाम, धुपीका बिरुवा रापेर हराभरा बनाएका छन् । यस्तै, विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घले चिनियाँ राष्ट्रपतिको स्वागतमा स्वागतद्वार बनाएका छन् ।

काठमाडौँ महानगरले चिनियाँ राष्ट्रपतिको स्वागतलाई सकेसम्म काठमाडौँ उपत्यकाको संस्कृतिलाई झल्काउने प्रयास गरेको छ । राष्ट्रपतिको स्वागतमा राखिएको द्वारमा लेखिएको ‘गौतमबुद्धको जन्मस्थलमा स्वागत छ। नेपाल र चीनबीच शताब्दीऔँ पुरानो मैत्रीसम्बन्ध रहँदै आएको छ ।

Leave a Reply

shares