साउदीअरबका नेपालीहरुलाई दुतावासको विशेष अनुरोध

Sharing is caring!

नेपाली दुतावास कार्यालय, रियाद

साउदी अरबमा वैदेशिक रोजगारीमा रहनुभएका नेपालीहरूमा नेपाली राजदूतावासले बिशेष अनुरोध जानकारी गरेको छ।सात वटा अनुरोध जानकारीहरु निम्न रहेका छन्।

१. साउदी अरबमा रोजगारीमा आएको केही हप्ता दश दिनमा नै कम्पनी राम्रो नरहेको, भने अनुसारको सुविधा नदिएको, मेडिकलनगरेको, मेसको खानाले आफूलाई सञ्चो नगरेको, विरामी हुंदा कम्पनीले उपचार नगरेकोलगायतका कारणहरु देखाइ काम छोड्ने नेपालीहरुको संख्या पछिल्ला दिनहरुमा बढेको देखिन्छ । तसर्थ, साउदी अरबमा आइसकेपछि यहांको रोजगारीमा कफला पद्बतिको भूमिकाका बारेमा थोरै भएपनि जानकारी राख्न अनुरोध छ । काम मन परेनभनेर गरिरहेको काम छोड्ने काम गर्दै नगर्नुहोस् । यसले समस्या समाधानमा झन जटीलता थप्ने एवं कफिललाई मात्र बलियो बनाउदछ । तपाइका समस्या राजदूतावासमा राख्नुहोस् तर काम र आवास नछाड्नुहोस् । राजदूतावासले समस्या समाधानमा गर्ने प्रयासमा रोजगारदाता (कफिल) र तपाइलाई नेपालबाट पठाउने म्यानपावर व्यवसायीले गर्ने सहयोगमा निर्भर गर्दछ । राजदूतावासमा समस्या राख्दा बढाइचढाइरुपमा दोषारोपण मात्र गर्ने प्रकारले नराख्नुस्, यथार्थ समस्या राख्नुहोस् ।नेपालमा म्यानपावर कम्पनीका प्रतिनिधिले तपाइले साउदीमा गर्ने रोजगारीका विषयमा के भनेका थिए भन्नुभन्दा तपाइले बोकेर आउनुभएको सम्झौतापत्रमा केछ र त्यसमा उल्लेख भएअनुसार रोजगारी र सुविधा छ छैन भनेर हेर्नुहोस् । कृपया बुझ्दै नबुझी वा लहै-लहैमा काम नछाड्नुहोला। काम र आवासमा रहेर नै समस्या समाधान सहज हुन्छ, छाडेर होइन।

२. गत वर्षहरुको तुलनामा नेपालीहरु चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्नुपरेका र ठूलो धनराशी कम्पनी वा कफिललाई बुझाउनु परेका घटनाहरु उल्लेखनीय संख्यामा आउन थालेका छन् । तसर्थ, यसप्रकारका कार्यहरुमा संलग्न नहुन एवं कार्यस्थलमा अत्यन्त चनाखो र सजग हुन तथा ATM वरपर लामो समय नबस्नु हुन अनुरोध छ।

३. लामो समय सम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीहरुले विभिन्न वहानामा लामो सेवा गरे वापत कम्पनीबाट पाउने सुविधाहरु नदिने, महिनौ सम्मको तलव नदिने, अकमा नवीकरण नगरिदिने लगायतका प्रवृत्तिहरु प्रशस्त देखिएकाले समयमै चनाखो भइ आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र सोको लिखित जानकारी यस राजदूतावास उपलव्ध गराउनुहोस् । राजदूतावासले यस प्रकारका निवेदनहरुका सम्बन्धमा श्रम कार्यालयमा ताकेता गरी सयौं जनाका तलव सुविधाहरु प्राप्त भएका छन् । निर्णय हुन समय लाग्न सक्छ। तसर्थ, सेवा करार सकिएपछि आफूले पाउने तलव एवं सुविधाहरु कम्पनीले दिन वहानावाजी वा आलटाल गरेमा श्रम कार्यालयमा निवेदन गर्नुहोस्। सुविधा छाडेर घर फर्किने हतारो कहिले नगर्नुहोस् ।

४. कतिपय नेपालीहरुका परिचयपत्र (अकामा) प्रयोग गरी विदेशी नागरिकहरुले आपराधिक गतिविधिहरुमा रकम पठाएका कारण नेपालीहरुले सोको सजाय भोग्नुपरिरहेको छ। तसर्थ, आपराधिक गतिविधिमा संलग्न नहुन, अकामालाई हिफाजतसाथ राख्नुहुन, हराएमा तुरुन्त प्रहरीलाई खवर गर्ने र कसैलाई पनि अनावश्यक अकामाको सक्कल वा फोटोकपि नदिनुहुन अनुरोध छ।

५. आफू कार्यरत मुलुकको स्थानीय कानूनको पालना, धर्म, संस्कृति र परम्पराको सम्मान गर्नु सबैको कर्तव्य हुन्छ। तसर्थ, कुनै पनि धर्म, संस्कृति र परम्पराको आलोचना गर्ने प्रकारका अभिव्यक्तिदिने, सामाजिक संजालमा राख्नेलगायतका कुनै पनि कार्य नगर्नु/नगराउनुहुन सबैमा अनुरोध छ।

६. तपाइले पाउने पारिश्रमिक र सुविधाका सम्बन्धमा राजदूतावासले टेलिफोनबाट सोधपूछ गरेका बेला कृपया यथार्थ जानकारी दिनुहोला। आफूले पाउने पारिश्रमिकका बारेमा आज एउटा जानकारी र भोलि सोही व्यक्तिले अर्को जानकारी दिने गरेका थुप्रै घटनाहरु भएका छन्। यसले कामदारहरुले सम्झौता अनुसार पारिश्रमिक पाउनुपर्ने तर्फ भइरहेका प्रयासहरुमा कुठाराघात हुन जान्छ। तसर्थ, आफ्नो पारिश्रमिकर सुविधाका बारेमा यथार्थ जानकारी दिइ सहयोग गरिदिनुहुन अनुरोध छ।

७. राजदूतावासको फेसबुक पेजमा विभिन्न समयमा पोष्ट भएका सार्वजनिक सूचनाहरू आफूपनि पढ्ने र आफन्त तथा साथिभाइमा पनि शेयर गरी सहयोग गरिदिनुहोस्। नयां आउनुभएका आफ्ना साथिहरुलाई पनि समय समयमा राजदूतावासको फेसबुकपेज हेर्न प्रेरित गर्नुहोस्। तपाइले खोजिरहेको जानकारी पनि यी सार्वजनिक सूचनामा हुन सक्दछन् ।

धन्यवाद ।

Leave a Reply

shares